महिनाबारी हुँदा के गर्ने, के नगर्ने ?

काठमाडौं । हालै प्रदर्शीत हिन्दी चलचित्र ‘प्याडम्यान’मा नायिका गायत्री (राधिका आप्टे)लाई महिनाबारी हुन्छ । योनीद्वारबाट निस्कने रगत लतपतीन नपाओस् भनेर उनी फोहर कपडाको टालो प्रयोग गर्छीन् ।

गायत्रीका पति लक्ष्मीकान्त चौहान (अक्षयकुमार)लाई आफ्नी पत्नीले महिनाबारी हुँदा फोहर टालो प्रयोग गरीरहेको चाल पाउँछन् । उनले के पनि थाहा पाउँछन् भने महिनाबारीमा फोहर टालो प्रयोग गर्दा योनीमा अनेक संक्रमण हुन्छ, गम्भीर रोग लाग्छ र महिलाको मृत्युसमेत हुनसक्छ ।

लक्ष्मीकान्तले पत्नीका लागि सेनेटरी प्याड किनेर ल्याइदिन्छन्, तर प्याड महंगो भएकाले पत्नी त्यसलाई प्रयोग गर्न इन्कार गर्छीन् । त्यो देखेपछि लक्ष्मीकान्त आफै प्याड उत्पादन गर्नतर्फ लाग्छन् ।

चलचित्र ‘प्याडम्यान’को कथा भारत, नेपाललगायतका महिलाको आम कथा हो, जो महिनाबारी हुँदा कपडाको फोहर टालो प्रयोग गर्छन् । तर, ति सबै महिलाका पति ‘प्याडम्यान’ हुँदैनन् । अनि सबैका पतिले उनीहरुलाई सेनीटरी प्याड किनेर ल्याउन पनि सक्दैनन् ।

महिनावरी आफैमा संवेदनसिल अवस्था हो । यस्तोबेला महिलाले यौनाङ्गको सरसफाईमा विशेष ध्यान दिनुपर्छ । किनकी, महिनावारी भएको बेला पाठेघरको भित्रि तह टुक्रिएर रगतसंगै योनीमार्गबाट बाहिर निश्कासन हुन्छ । यस अवस्थामा निष्कासन भएको रगत लुगा र खुट्टाहरुमा लाग्न नदिन प्याड वा कपडा प्रयोग गर्ने गरिन्छ । यस्तो अवस्थामा पाठेघरको मुख अलिकती खुकुलो हुने भएकोले सरसफाईमा ध्यान पुर्‍याउनुपर्छ । प्रयोग गरेका प्याड वा कपडा सफा भएन भने त्यसबाटै संक्रमण हुनसक्छ ।

होम मेड प्याड

बजारमा पाईने प्याड वैज्ञानिक तरिकाले उत्पादन गरिएकाले स्वास्थ्यका दृष्टिकोणले उपयुक्त हुन्छन् । तर ति सँधै व्यवहारीक नहुन पनि सक्छन् र सबैको पहुँचमा नहुन पनि सक्छन् ।

खासगरी ग्रामिण भेगमा प्याड किन्न गार्‍हो तथा महंगो पर्ने भएकोले धेरै महिला कपडाको टालो नै प्रयोग गर्न चाहन्छन् । कतिपय महिलाको भनाइ के पाइन्छ भने प्याड किन्नभन्दा पनि राख्न र फाल्न गाह्रो हुन्छ ।

प्याड प्रयोग गर्न नसक्ने या नचाहने महिलाका लागि घरेलु प्याड पनि बनाउन सकिन्छ । फोहर, थोत्रा कपडालाई प्याडको रुपमा प्रयोग गर्दा सँक्रमणको खतरा हुने भएकाले प्याड बनाउन प्रयोग गरिने कपडा सफा हुनुपर्छ । सुती वा फलाटिनको कपडाको रुमाललाई प्याड बनाउन सके संक्रमणबाट बच्न सकिन्छ । यस्ता रुमाललाई प्रयोग गरिसकेपछि साबुन पानीले धोएर, घाममा सुकाएर पुनः प्रयोग गर्न सकिन्छ र यो कम खर्चीलो पनि हुन्छ ।

यस्ता घरेलु प्याड हामीले प्रयोग गर्ने रुमालबाट पनि बनाउन सकिन्छ । विद्यालय, क्याम्पस, कार्यालय जहाँ पनि सजिलै प्रयोग गर्न सकिने भएकाले पछिल्लो समयमा रुमाल वा घरेलु प्याड प्रचलित छ । तर अझै पनि धेरैले यस्ता रुमाल सफा गरेर घाममा नसुकाएर ओषिलो ठाउ (वाथरुम) मा मात्र सुकाउने गर्छन्, जुन उचित होईन ।

महिनाबारी : प्राकृतिक प्रकृया

‘महिनावारी’, ‘रजस्वला’, ‘मासिक श्राव’ जे भनिए पनि यो एउटा प्राकृतिक प्रक्रिया हो । हरेक महिना ३-४ दिन (बढिमा एक हप्ता) योनीमार्गबाट रगत बग्ने प्रक्रिया नै महिनावारी हो । किशोरी परिपक्क अवस्थामा पुगेपछि महिनावारी शुरु हुन्छ ।

महिनावारी हुनुमा मष्तिष्कमा रहेको ‘हाईपोथालामस’ले उत्पादन गर्ने ‘गोनाडोट्रोपिन रिलिजिङ हर्मोन’, पिट्युटरी ग्रन्थीको ‘एन्टेरियर लोब’ले उत्पादन गर्ने ‘फोलिकुलन स्टुमुलेटिङ हर्मोन’ र ‘ल्युटिनाईजिङ हर्मोन’ अनि अण्डासयले उत्पादन गर्ने दुई किसिमका हर्मोन (ओस्ट्रोजन र प्रोजेस्ट्रोन)को मुख्य भूमिका हुन्छ । यी हर्मोनले पाठेघरको भित्री तह (इन्डोमेट्रियम) बनाउने र भत्काउने गर्छन् । यही कारण महिनावारी हुन्छ ।

महिनावारी हुनुमा यी हर्मोबाहेक पोषण, बंशाणुगत तथा वातावरणिय पक्षको ठुलो भुमिका रहन्छ । समान्यतयाः अण्डासयले उत्पादन गरेको अण्डको निक्षेदन अर्थात फर्टिलाईजेशन नभएपछि पाठेघरको भित्रि तह (इन्डोमेट्रियम) टुक्रिन्छ र महिनावारी हुन्छ ।

किशोर अवस्थामा कसै कसैको पाठेघर ढिलो परिपक्व हुन्छ र माथि उल्लेखित हर्मोनको उत्पादनमा असन्तुलन हुनजान्छ । यही कारण पाठेघरको अत्याधिक बढि सङ्कुचन (कन्ट्राक्सन) हुन्छ । अनि तल्लो पेट बढी दुख्छ ।

केही भ्रमहरु

एक्काशौं शताब्दीमा पनि हाम्रो समाजमा महिनाबारीबारे अनेक भ्रम र अन्धविश्वास व्याप्त छन् । ‘महिनावारी भएको बेला नुहाउनु हुँदैन’, ‘गाईलाई छुनु हुदैन’, ‘ऐना हेर्नु हुदैन’, ‘रुखबिरुवा छुनु हुदैन’, ‘भन्सामा जानु हुदैन’ र ‘पूजा गर्न मिल्दैन’ भन्नेजस्ता भ्रम रहेको पाइन्छ ।

महिनाबारी हुँदा महिलाको शरीर झन कमजोर हुन्छ, यस्तोबेलामा प्रशस्त ताजा र पौष्टीक खाना चाहिन्छ । तर, हाम्रो समाजमा ठिक उल्टो चलन छ । महिनाबारी भएकाले अन्तिममा बचेखुचेको खाना खानुपर्ने र फोहर गोठमा बस्नुपर्नेजस्ता गलत मान्यता रहेको पाइन्छ ।

चेतनाको अभावकै कारण यस्ता गलत मान्यता हटन नसकेको हो ।

विद्यालयमै ‘मिन्स’ हुँदा

हुन त, स्कुलका पाठयक्रममा महिनावारी सम्बन्धि केहि जानकारी राखिएका छन् । तर, त्यसबाट पाठ सिकेर व्यवहारमा उतारेको कमै पाइन्छ । विद्यालय जाँदा महिनाबारी भएपछि किशोरी झन ठूलो अप्ठयारोमा पर्ने गरेका छन् ।

अधिकाशं किशोरी महिनावारीलाई समस्याका रुपमा लिने गर्छन् । अझ कतिपय महिला आफुलाई महिनाबारी भएकोसमेत कसैलाई भन्दैनन् ।

यो समस्या आम किशोरीको हो, जसले महिनाबारी भएको अरुलाई भन्नसमेत सक्दैनन् । ‘विद्यालयमा महिनावारी सुरुभयो भने किशोरीहरु टाउको वा पेट दुखेको बहाना बनाउँछन्’, श्री सनिस्चरे माध्यमिक विद्यालय डुम्राहाका शिक्षक काशी सिंहले मसँग भनेका थिए ।

केहि समयअघि मोरङ लियो क्लब अफ बिराटनगरले महिनाबारीसम्बन्धी एक सचेतना कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा कक्षा ९ मा अध्ययनरत एक किशोरीले आफ्नो मर्म पोख्दै भनेकी थिइन्, ‘विद्यालय गएको बेलामा मलाई महिनाबारी भयो । मसँग प्याड पनि थिएन, साथीलाई पनि आफ्नो समस्या भन्न सकिन । स्कुल बिदा नभएसम्म करीब तिन घन्टा एउटै बेन्चमा कष्ट सहेर बस्नुपर्‍यो ।’

गर्न हुने/गर्न नहुने

-ताजा फलफुल बढि खाने गर्नुहोस् । यसमा भएका भिटामिन ‘सि’ र ‘ए’ले योनीमार्गलाई स्वस्थ्य राख्न सघाउँछ । फलफूलमा हुने प्राकृतिक रेशाहरुले आन्द्राको चाल सन्तुलीत राख्छ ।

-दैनिक ८ देखि १० ग्लास अर्थात ४ लिटरभन्दा बढि पानी पिउनुहोस् । यस अवस्थामा मद्यपानले यिष्टको बृद्धि गराउने भएकोले धेरै मदिरा, चिया, कफि नखानु नै उत्तम ।

– धेरै गुलियो तथा दुधबाट बनेका परिकारले पनि योनीमार्गका जीवाणुको बृद्धिमा मद्दत गर्छ । यस्ता खानेकुरा कमै खानुस् ।

-सरसफाईमा सजग बन्नुहोस्, आफ्नो यौनाङग सफा राख्नुहोस् । तर धेरै पखाल्ने पनि नगर्नुहोस् ।

-सधै अगाडिबाट (योनीमार्गतिरबाट) पछाडि (मलद्वारतिर) पखाल्नुहोस् । यसले योनीमार्ग तथा पिसाब नलीमा मलद्वारमा भएको जीवाणु जान पाउँदैन ।

-यानीमार्गको सफा गर्न महङ्गो अनि बासनादार साबुन वा सेम्पु चाहिदैन । समान्य साबुन वा कम क्षार भएका भजाईनल वासले राम्ररी सफा गर्न सकिन्छ ।

-अनेक सुगन्ध राखिएका प्याड तथा योनीमार्गको छेउछाउमा पाउडर प्रयोग नगर्नु नै उत्तम ।

– दुखाई कम गर्न हट रबर ब्याग वा चिकित्सकको सल्लाह बमोजिम दुखाई कम गर्ने औषधि सेवन गर्न सकिन्छ ।

– धेरै रगत गएमा वा धेरै दिनसम्म रगत बगेमा चिकित्सकसंग परामर्श लिनुपर्छ ।

  अनलाइनखबरबाट

Loading...